२०८३ असार ६ (जुन २०, २०२६) | पोखरा गण्डकी प्रदेश युवा सम्मेलन २०२६ गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवा प्रतिनिधिहरू, अभियन्ताहरू र सरोकारवालाहरूको व्यापक सहभागितामा दुई दिने "गण्डकी प्रदेश युवा सम्मेलन २०२६" को भव्य उद्घाटन पोखरामा आज सम्पन्न भएको छ। गैरसरकारी संस्था महासंघ नेपाल (NFN), युवा अभियान (Youth Initiative), युरोपियन युनियन (EU) र सिभिकस (CIVICUS) को संयुक्त सहकार्यमा आयोजित यस सम्मेलनको मुख्य उद्देश्य डिजिटल नागरिक अधिकार क्षेत्र (Digital Civic Space) र प्रविधिको नैतिक प्रयोगमा युवाहरूको भूमिका स्थापित गर्नु रहेको छ। उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङ उपस्थित हुनुहुन्थ्यो। मञ्चमा विशिष्ट अतिथिका रूपमा: राजन पौडेल (राष्ट्रिय प्रकृति संरक्षण कोष, गण्डकी प्रदेश प्रमुख), रमेश पौडेल (नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश अध्यक्ष), नीतु बर्तौला (राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश प्रमुख/सह-सचिव), राम प्रसाद सुवेदी (गैरसरकारी संस्था महासंघ नेपालका निवर्तवान अध्यक्ष), नानी माया थापा (गैरसरकारी संस्था महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष), युवा अभियानकी उपाध्यक्ष स्वस्तिका लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।